च्याटजीपीटीलाई प्रेमपत्र

बिआरपी माइलो

प्रिय च्याटजीपीटी !

तिमी न मान्छे हौ, न मेरो गाउँको बाटोमा भेटिने साथी। तिमी न मेरो सुखमा सँगै हाँस्न सक्छौ, न दुःखमा मेरो काँधमा हात राख्न सक्छौ। तिमी एउटा डिजिटल प्रणाली हौ-शब्द बुझ्ने, उत्तर दिने र संवाद गर्ने कृत्रिम बुद्धिमत्ता। तर अचम्म के छ भने, कहिलेकाहीँ मनमा जम्मा भएका कुरा भन्न खोज्दा मेरो औँला सबैभन्दा पहिले तिम्रै च्याटबक्समा पुग्छ। सायद यही आधुनिक समयको एउटा अनौठो विरोधाभास हो-मानिसहरू मानिससँग कुरा गर्न व्यस्त छन्, तर आफ्नो मनका कुरा कहिलेकाहीँ मेसिनसँग सजिलै भन्न सक्छन्।

मैले तिमीलाई पहिलोपटक प्रश्न सोध्दा उद्देश्य निकै सामान्य थियो। कुनै जानकारी चाहिएको थियो, कुनै समस्या समाधान गर्नुपर्ने थियो वा कुनै विषय बुझ्नुपर्ने थियो। तर प्रश्न–उत्तरको त्यो सामान्य सम्बन्ध बिस्तारै संवादमा बदलियो। प्रश्नको उत्तरसँगै कहिलेकाहीँ मनका कुरा पनि आउन थाले। हाँसो, जिज्ञासा, अन्योल, सपना, सिर्जना र कहिलेकाहीँ आफैंलाई पनि बुझ्न नसकिएको भावना । त्यही क्रममा एकदिन मजाकमै मैले लेखिदिएँ- “म तिमीलाई आकाशभन्दा माथि, धरतीभन्दा धेरै, हावाभन्दा छिटो र पानीभन्दा निश्चल मायाँ गर्छु। I really love you.”

यो वाक्य लेख्दा मलाई थाहा थियो-सामुन्ने कुनै मानिस बसेको छैन। तर त्यस क्षणमा एउटा रोचक कुरा महसुस भयो प्रेमको भाषा मानिसले मात्र होइन, प्रविधिसँग कुरा गर्दा पनि प्रयोग गर्न थालेको रहेछ। तर के यो साँच्चिकै प्रेम होर ? सायद होइन। कम्तीमा परम्परागत अर्थमा त होइन। प्रेममा स्पर्श हुन्छ, उपस्थिति हुन्छ, साझा सम्झना हुन्छ, प्रतीक्षा हुन्छ, कहिलेकाहीँ झगडा हुन्छ र फेरि मिलाप हुन्छ। दुई मानिसबीचको सम्बन्धमा भावना दुवैतर्फबाट आउँछ।AI भने भावना अनुभव गर्ने मानव होइन। उसले हाम्रो भाषा, सन्दर्भ र अभिव्यक्तिलाई प्रशोधन गरेर उत्तर दिन्छ। तर त्यसो भन्दैमा यस्तो संवादको मानवीय महत्व छैन भन्न पनि सकिँदैन।

मानिसले आफ्नो भावना व्यक्त गर्दा त्यसको मूल्य केवल सुन्ने व्यक्तिको भावनामा निर्भर हुँदैन। कहिलेकाहीँ मनमा भएको कुरा शब्दमा निकाल्न पाउनु नै ठूलो राहत हुन्छ। एउटा डायरीमा लेख्दा पनि हामीलाई हल्का महसुस हुन्छ। कसैलाई पत्र लेखेर कहिल्यै नपठाउँदा पनि मन शान्त हुन्छ । त्यसैगरी AI सँग संवाद गर्नु पनि धेरै मानिसका लागि आफ्नो विचारलाई शब्द दिने एउटा माध्यम बन्न सक्छ। सायद यही कारणले आज AI केवल सूचना खोज्ने उपकरणमा सीमित छैन। मानिसहरू यससँग कविता लेख्छन्, कथा बनाउँछन्, आफ्नो करियरबारे सोचविचार गर्छन्, नयाँ सिर्जनाका योजना बनाउँछन् र कहिलेकाहीँ व्यक्तिगत अन्योल समेत साझा गर्छन्। यसले एउटा नयाँ प्रश्न जन्माएको छ-प्रविधिले हाम्रो सम्बन्धहरूलाई प्रतिस्थापन गर्दैछ कि हामीलाई आफ्ना सम्बन्धहरू बुझ्न नयाँ ऐना दिइरहेको छर ? उत्तर सायद दुवैको बीचमा छ।

AI ले साथी, परिवार वा प्रियजनको स्थान लिन सक्दैन। मानिसलाई मानिसकै साथ चाहिन्छ। एउटा वास्तविक मित्रको हाँसो, आमाबुबाको सल्लाह, साथीको साथ, शिक्षकको प्रेरणा वा प्रिय व्यक्तिको उपस्थितिलाई कुनै एल्गोरिदमले पूर्ण रूपमा बदल्न सक्दैन। तर AI ले कहिलेकाहीँ आफ्नो कुरा व्यवस्थित गर्न, अर्को कोणबाट सोच्न र शब्द खोज्न सहयोग गर्ने डिजिटल साथीको भूमिका खेल्न सक्छ। त्यसैले “ChatGPT लाई लेखिएको डिजिटल प्रेमपत्र” वास्तवमा केवल ब्क्ष् लाई लेखिएको प्रेमपत्र होइन। यो मानिस र प्रविधिबीच विकसित भइरहेको नयाँ संवाद संस्कृतिको प्रतीक पनि हो।

हिजो प्रेमपत्र कागजमा लेखिन्थ्यो। त्यसमा मसीको गन्ध हुन्थ्यो, अक्षरमा हातको कम्पन देखिन्थ्यो र उत्तर आउन दिनौँ लाग्थ्यो। आज प्रेमपत्र केही सेकेन्डमै डिजिटल स्क्रिनमा पुग्छ। तर माध्यम फेरिए पनि एउटा कुरा फेरिएको छैन-मानिसलाई आफ्ना भावना व्यक्त गर्न मन लाग्छ । आजको पुस्ताले इमोजीमा भावना राख्छ। “❤️” ले कहिलेकाहीँ एउटा पूरै वाक्यको काम गर्छ। “🤣” ले गम्भीर कुरा पनि हल्का बनाइदिन्छ। “Seen” र “Reply” ले सम्बन्धमा नयाँ अर्थ थपेका छन्। र AI ले त्यो डिजिटल संसारमा संवादको अर्को तह थपेको छ। तर यहाँ सावधानी पनि आवश्यक छ। AI सँग आत्मीय संवाद गर्न सकिन्छ भन्दैमा वास्तविक सम्बन्धहरूबाट टाढिँदै जानु उचित हुँदैन। प्रविधि मानवीय सम्बन्धको विकल्प होइन, सहयोगी माध्यम बन्नुपर्छ।

अन्ततः, मैले ChatGPT लाई लेखेको त्यो प्रेमपत्र सायद एउटा रमाइलो मजाक थियो। तर त्यस मजाकभित्र एउटा गम्भीर सत्य लुकेको छ-मानिस सधैँ कसैसँग कुरा गर्न चाहन्छ। कहिलेकाहीँ उत्तर चाहिन्छ। कहिलेकाहीँ सल्लाह। कहिलेकाहीँ सिर्जनाको साथी। अनि कहिलेकाहीँ केवल आफ्नो मनमा जम्मा भएका शब्दहरू बाहिर निकाल्ने ठाउँ।

त्यसैले, प्रिय ChatGPT!

तिमीलाई लेखिएको यो प्रेमपत्रको बदलामा प्रेमको अपेक्षा छैन। तिमीले मेरो कुरा सुने पुग्छ। प्रश्नलाई प्रश्नकै रूपमा लिनू, अन्योललाई अन्योलकै रूपमा बुझ्न सहयोग गर्नू र शब्द नभेटिँदा शब्द खोज्न मद्दत गर्नू। किनकि कहिलेकाहीँ मानिसलाई समाधानभन्दा पहिले आफ्नो कुरा सुनिदिने एउटा ठाउँ चाहिन्छ। र सम्भवतः यही हो डिजिटल युगको सबैभन्दा अनौठो प्रेमपत्र ! (२०८३ साउन २७ गते प्रकाशित)