विकल्प पुँजीवादको

अर्जुन फुयल 

खोटाङ, २९ साउन । मानवताको अस्तित्व र हाम्रो साझा धर्तीको भविष्य आज एउटा गम्भीर मोडमा उभिएको छ। विगत केही शताब्दीदेखि विश्वलाई डोर्‍याइरहेको पुँजीवादी व्यवस्थाले भौतिक विकासको शिखर चुमेको दाबी गरे तापनि, यसले निम्त्याएको असमानता र पर्यावरणीय संकट निकै डरलाग्दो छ। नाफा आर्जन गर्ने असीमित मोहले जमिन, पानी र वायुमण्डललाई प्रदूषित मात्र गरेको छैन, सिंगो पृथ्वीको भविष्यलाई नै संकटमा पारेको छ। स्टिफन हकिङजस्ता दुरदर्शी वैज्ञानिकहरूले पनि हामी बेलैमा सचेत नहुने हो भने मानिसको अस्तित्वलाई नै जोगाउन कठिन हुनेछ भनी चेतावनी दिएका छन्।

यस परिस्थितिलाई बदल्नका लागि, हामीले पुँजीवादको विकल्प खोज्नै पर्छ। यस्तो विकल्प, जहाँ समाजवाद र साम्यवादको जगमा मानिस मानिसबीचको सम्पूर्ण असमानता र विभेदको अन्त्य होस्। अबको समाज वैज्ञानिक पद्धति, तर्क र समानतामा आधारित हुनुपर्छ। चाहे त्यो महिला होस् वा पुरुष, दलित वा मधेसी, काला वा गोरा । हामी सबै एक समान हौँ भन्ने तथ्यलाई आत्मसात् गरेर अगाडि बढ्ने समय आइसकेको छ। अब ढिला भयो भने ब्रह्माण्डमा मानिसको अस्तित्वलाई बचाउन कठिन हुनेछ।