शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

खोटाङ, ५ भदौ । शुभशेर राई स्मृति प्रतिष्ठान खोटाङले शिक्षक इन्द्रकुमार तामाङलाई उत्कष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभशेर राईको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षक तामाङलाई ५५ हजार ५५५ रुपैयाँ राशीको शुभशेर राई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको हो ।

बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई छनौट गरेर प्रदान गरिने पुरस्कार यस वर्ष साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा कार्यरत तामाङलाई प्रदान गरिएको हो । स्वर्गीय शिक्षकको पाँचौं वार्षिक पुण्यतिथिको अवसरमा भदौ ५ गते दिक्तेलमा आयोजित कार्यक्रममा कोसी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री उषाकला राई र नेपाल राष्ट्रिय शिक्षक संगठन, कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रकाश गौतमले दोसल्ला ओढाएर सम्मान–पत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानले जनता आधारभुत विद्यालय नेर्पाका प्रधानाध्यपक झमप्रसाद आचार्यलाई शुभसेर राई दीर्घसेवा शिक्षक सम्मान, हिमालय मावि सोल्माका विव्यास अध्यक्ष सप्तमणी राईलाई शुभसेर राई उत्कृष्ट विव्यास अध्यक्ष सम्मान, लक्ष्मी मावि काहुलेका प्रधानाध्यपक कृष्णबहादुर राईलाई शुभसेर राई उत्कृष्ट प्रधानाध्यपक सम्मान र शिक्षक टंक कटुवाललाई शुभसेर राई शिक्षक नेतृत्व सम्मान प्रदान गरेको छ । यस्तै, चम्पावती मावि बुईपाका छात्र आनन्द श्रेष्ठलाई ७ हजार ७७७ रुपैयाँ राशीको उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले बताए ।

कार्यक्रममा स्वर्गीय शिक्षक राईको परिवारले वार्षिक आम्दानीको ०.५ प्रतिशत अर्थात ९० हजार कोषवृद्धिका लागि प्रतिष्ठानलाई प्रदान गरेको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष एबं स्वर्गीय राईको जेठो छोरा देवबिक्रम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।