
✍ भीम राई
अक्सफोर्ड (बेलायत), १२ फागुन । वास्तवमा यात्रा यात्रा नै हो । अझै थेम्सको यात्रा भनेपछि अलिक पृथक खालको र बढि मनोरन्जनात्मक पनि हुने गर्छ । खै किन हो किन, जलयात्रा भनेपछि म हुरुक्कै हुने गर्छु । हुनत जुनसुकै जलयात्रामा निस्केता पनि हामी पानीजहाजको सबैभन्दा माथिलो तलामा पुग्छौं । अनि त्यस तलाको एउटा कुनामा पुगेर थपक्कै यसरि नै बस्छौं रत्यहाँदेखि देखिने रमाइला ठाउँहरुको दृश्यवलोकन गर्न थालिहाल्छौं।
अहिले थेम्स नदीको पानी हाम्रो जिन्दगीझै अविरल बहिरहेको छ । तिनै पानीमा देखिएका आफ्नो छायाँलाई पटकपटक नजर लगाउँदै हाम्रो समय पनि आफ्नै गतिमा अगाडि बहिरहेको हुन्छ । हामीले यात्रा गरिरहेको क्रुजभन्दा अलिक स-साना तर झन वेगमा चल्ने इन्जिन डुङ्गाहरु हाम्रा दायाँ र बायाँ स्याउँस्याउँती देखा परिरहन्छन् । तिनैले निकालेको पानीको छालहरु छिचोल्दै छिचोल्दै अगाडि बढ्दा हामीलाई खुबै रमाइलो लागिरहेको छ । हामी त्यसरि पानीमा बहेर निक्कै अगाडि पुगेपछि, “ल बायाँ दिशातर्फ हेर्नुहोस्,” फेरि जोनको मुख खोलिन्छ ।
इन्जिन डुङ्गाहरुले देखाएका चमत्कारपूर्ण खेलहरुको जतिसुकै रमिता हेर्दा पनि नथाक्ने नयनहरु जोनले भन्ने बितिक्कै मिलिकको भरमा बायाँ फर्किहाल्छ । त्यसबेला हाम्रो ठीक बायाँ दिशामा मध्यान्हको सूर्यले टलक्कै टल्किरहेको सेन्ट पौल क्याथेड्रलको गुम्बज देखा पर्छ ।
“यो गिर्जाघर बेलायतमा रहेको गिर्जाघरहरुको आमा गिर्जाघर (मदर चर्च) हो,” त्यति भनि सकेर ऊँ एकछिन रोकिन्छ । अनी ऊँ एकछिन रोकिएपछि म उनको जिउडाललाई राम्ररि अवलोकन गर्छु । ऊँ बिलकुल भुँडे देखिन्छ । उनको जिउ हेर्दा मलाई यतिबेला काउलुनदेखि उता पारी हङकङ टापुमा घुम्न जाँदा देखिएका दशहजार बुध्दको प्रतिमामध्ये ड्याम्मै भुँडी पल्टाएर मज्जाले बसिरहने ‘सिटिङ बुध्द’ को यादले सताउछ । त्यति सम्झेपछि तारालाई प्वाक्कै यो सिटिङ बुध्द रहेछ भनेर भन्न मन लाग्छ तर म मेरो मुख बार्छु ।
त्यसपछी, “यसको निर्माण सन् १६७५ देखि सुरु गरेर लगभग ३५ बर्षपछि सन् १७१० मा सकिएको थियो । यो गिर्जाघर अङ्ग्रेजी आर्किटेकहरुको गुरु आर्किटेक सर क्रिष्टोफर रेनको उत्कृष्ट नमुना (मास्टर पिस) हो । उनले यो डिजाइन गर्दा पुरानो सेन्ट पौल भएको स्थानमा नै गरेका थिए । पुरानो सेन्ट पौल क्याथेड्रल सन् १६६६ को भिषण आगलागिले नष्ट भएको थियो,” त्यति भन्छन् ।
वास्तवमा इतिहास पनि इतिहास नै हुने रहेछ । लण्डनमा हरेक कुरोको सुनौलो इतिहास छ भनेर मनमनै सोच्छु । उनले त्यति भनि सकेर आफ्नो साथैमा बोकिरहेको पानीको बोतल खोलेर एक घुटकि पानी पिउँछ । यो जाबो सहरभित्र हुने नहुने हरेक कुरोको आ-आफ्नै इतिहास छ रहेछ, मनमनै भन्छु । त्यसपछि म मेरो ध्यान केन्द्रित गर्छु र म सेन्ट पौलको गुम्बजलाई निक्कैबेर हेरिरहन्छु । मैले मेरो जिन्दगी जिउने क्रममा यस्तो गुम्वजहरु लिभरपुलदेखि ताजमहलसम्म पुग्दा बाटोमा पर्ने रोम, इस्तानबुल र आबुधावीमा निक्कै पटक देखेको स्मरण गर्छु ।
सेन्ट पौल लण्डनको एउटा मूख्य ऐतिहासिक स्थान हो भनेर म एकचोटी त्यहाँ पुगेको थिएँ । नभन्दै यसको नजिकदेखि एकदम गहिरिएर अध्यान गर्ने हो भने रोमको सेन्ट पिटर्सभन्दा यो अलिकति मात्र सानो रहेको छ । यसको उचाई ३ सय ६५ फिट अग्लो छ । तैपनि लण्डनमा यसको निर्माण भएपछि यो सबैभन्दा अग्लो घर भएको थियो र योभन्दा अग्लो घर बनाउन प्रतिबन्ध लगाइएको थियो । जसले गर्दा यसले २ सय ५० बर्षसम्म यसले सबैभन्दा अग्लो घर बनेर एकक्षत्र शासन गरेको थियो ।
२९ जुलाई १९८१ को दिन विश्वका अधिकतम राष्ट्राध्यक्षहरुको अगाडि अहिलेको राजा चार्ल्स तेश्रो अथवा तत्कालिन राजकुमार र राजकुमारी डायनाको बिच धुमधामसँग यिनै गिर्जाघरमा विवाह सु-सम्पन्न भएको थियो । त्यो बाहेक अनेकन ठूल्ठूला उत्सवहरु ब्यवस्थित गरेको यस गिर्जाघरले राष्ट्रिय नायक वा नायिकाहरु जस्तैः- होरासियो नेल्सन, आर्थर वेलेस्ली (वेलिङ्टन), विन्स्टन चर्चिल र मार्गरेट थेचरको मृत्यु हुँदा राजकिय अन्तेष्टी पनि यहिँ गरिएको थियो ।
तिनै लण्डनको ऐतिहासिक गिर्जाघरदेखि बिदावारी लिएर हिडेका मेरा नयनहरु पुनः थेम्सको पानीसँग मितेरि लगाउदै लगाउदै बटुवाहरुमात्र हिड्न मिल्ने साघुँको मुनि पुग्छ । अथवा सेन्ट पौलदेखि निस्केर चालिएका कदमहरु गन्दै त्यहाँ जाने हो भने लगभग हजार पाईलाभन्दा अगाडि नै त्यो साघुँमा पुगिन्छ ।
हामी त्यहाँ पुग्ने बितिक्कै, – “हाम्रो टाउकोमा रहेको साघुँ स्रहशाब्दी (मिलेनियम) साघुँ हो,” अहिलेसम्म चिरपरिचित भइसकेको जोनको आवाज पुनः सुन्न सकिन्छ ।
मिलेनियम भन्ने बितिक्कै यस्को निर्माण सोहि समय सन् २००० मा भएको हो है भनेर जो कोहिले सहजै अनुमान लगाउन सक्छन् । यो साघुँले नदीपारि रहेको टेट्स ग्यालरी र नदीवारीको सेन्ट पौल जाने आउने बटुवाहरुलाई जोड्ने काम गर्छ । यस्को निर्माण सन् १९९८ देखि सुरु गरेर त्यसको ठीक दुई बर्षपछि १० जुन २००० मा उद्घाटन गरिएको थियो । त्यसदिन साघुँको उद्घाटन चाहिँ भयो तर अफसोच साँघुमा मानिसहरु पस्ने बितिक्कै लकपके पिङ जस्तो दायाँ बायाँ हल्लिएर खप्पि सक्नु भएन । नयाँ बनेको साघुँ त्यसरी हल्लिएपछि सुरक्षाको दृष्टीकोणले त्यसदिन मानिसहरु हिड्नको लागि निषेध गरिएको थियो ।
त्यसको भोलिपल्टदेखि थोरै थोरै मानिसहरुलाई साघुँ तर्न दिइएको त थियो । तर लण्डनमा बनेको नयाँ साघुँले झन सहरको ठूलो बेइज्जत गर्यो । त्यसैले दुई दिनपछि साघुँलाई पूर्णकालिन बन्द गरियो र फेरि पुरै मर्मत गरेर त्यसको दुई बर्षपछि सन् २००२ मा पुनः सन्चालनमा ल्याइएको हो । ३ सय २५ मिटर लामो र ४ मिटर चौडा भएको अनि आल्मिनियमद्वारा निर्माण भएको उक्त्त साघुँमा एक पटकमा ५ हजार मानिसहरु हिड्न सक्ने क्षमता छ । तैपनि साघुँ उदघाटनको बेला धेरै हल्लिएको हुनाले उक्त्त साँघुलाई लण्डनरहरुले लकपके साघुँ (वोब्ली ब्रिज) भनेर अहिलेसम्म भन्ने गरेका छन् ।
तिनै लकपके साघुँ छिरेर जादै गर्दा जोनले साघुँमाथि देखा परेका तरुनी तन्नेरीहरुलाई एकचोटी हात उठाई दिनु है भन्छ । हामी सबैले हात उठाएर उनिहरुसँग बिदाइ हुन्छौ ।
विश्वको अन्य प्रतिष्ठित सहरहरुको तुलनामा थेम्स नदीको पानी निक्कै स्वच्छ रहेको छ । तर सयकडौ बर्ष अगाडि यो नदी लण्डनको ठूलो फोहोर पानी बग्ने ढल जस्तै थियो । अहिले यहाँको पानी सफा भएको हुनाले नदीमा १ सय २५ प्रकारका माछाहरु पाउन सकिन्छ । मलाई यतिबेला झलझली याद आइरहेको छ । केहिबर्ष अगाडि मात्रको कुरो हो । यहाँ एउटा बेलुगा ह्वेल पनि देखा परेको थियो । उत्तरी सागरदेखि बाटो बिराएर अङ्ग्रेजी जलसंयोजन हुँदै अरु कैयन ह्वेलहरु पनि समय समयमा यहाँ आउने गरेका छन् ।
नदीको नै कुरो गर्दा सन् १३०९ देखि रेकर्ड गर्न सुरु गरेपछि अहिलेसम्म थेम्स जम्माजम्मि २४ पटक जमेर बरफमा परिणत भैसकेको छ । तर अन्य समयको तुलनामा सन् १६८३ मा चाहिँ नदीमा विराट् ठन्डा (ग्रेट फ्रोस्ट) भएको थियो । त्यसबेला नदी पुरापुरि २ महिना जमेर बरफ बनेको थियो । त्यो समय नै थेम्सको इतिहासमा सबैभन्दा लामो समयसम्म नदी जमेको थियो है भनेर नयाँ कीर्तिमान कायम भएको थियो । त्यति लामो समयसम्म नदी जमेपछि नदीमाथि ठूलो मेला पनि लागेको लण्डनको इतिहास छ ।
हामी यसबेला अति आनन्दित हुँदै क्रमशः क्रुजदेखि अगाडि बढिरहेको छौं । नदीले साउथवाक साघुँ पार गरेपछि हाम्रो अनुहारमा लण्डनको सबैभन्दा अग्लो घर ‘सार्ड – लण्डन’ झलक्क झुल्किदिन्छ ।
“यो ७२ तले गगनचुम्वी महलको डिजाइन इटालियन आर्किटेक रेन्जो पियानोले गरेका हुन् र यो साउथवाक लण्डनमा अवस्थित छ । यसको निर्माण भइसकेपछि यो बेलायतको सबैभन्दा अग्लो घरमात्र नभएर यूरोपको सातौं अग्लो घर हुन पुगेको छ । यसको निर्माण सन् २००९ देखि आरम्भ भएर सन् २०१२ मा मात्र सकिएको थियो । लगभग आँधा बिलियन पाउण्ड खर्च गरेर बनाइएको यो बिल्डिङमा ९५ प्रतिशत लगानी कतारी सरकारको छ,” त्यति भनेपछि जोन एकछिन रोकिन्छ ।
त्यसपछि उनले, “कतार भन्ने देशले हामीलाई गर्नै गरेको छ । हुनत यस घरकोमात्र के कुरो गर्ने र ? हाम्रो हातमा आइसकेको विश्व कप पनि उनीहरुले नै खोसे । म्यानचेस्टर फुटबल क्लब पनि खोस्यो र लण्डनको अधिकांश घरहरु पनि अहिले उनीहरुको अधिनमा रहेका छन्,” भन्दा यात्रृहरु गलल हास्छन् ।
अ… मेरो गोजि दर्हो भएको समयमा म तिनै सार्डको तलामाथि आक्कल झुक्कल उक्लने गर्छु । किनभने त्यस घरको ३३औं तलामा ‘हुटुङ’ भन्ने चिनिया रेष्टुराँ छ । हुटुङ भन्नाले बेइजिङको घना बस्तिहरुमा भेटिने स-साना गल्लीहरु बुझिन्छ । तिनै रेष्टुराँमा बसेर भिन्टेज डोम पेरिगननको साथमा बेइजिङ डकको स्वाद लिदै सहरको सुन्दर दृश्य अवलोकन गर्न मिल्छ ।
तिनै सार्ड महलको रमणिय दृश्यसँगसँगै हामी अति चर्चित लण्डन साघुँ (लण्डन ब्रिज) मा आइपुग्छौं । तर त्यहाँ पुग्दा हाम्रो ठीक दाहिनेतिर रहेको अति पुरानो मात्र नभएर एउटा ऐतिहासिक लण्डनको भट्टिपशल ‘ओल्ड थेमसाइड इन’ लाई एकझलक हेर्न भनेर जोनले अनुरोध गर्छन् । उनको अनुरोधलाई सहर्ष स्वीकार गर्दै हामी त्यतातिर नजर डुलाउछौं । अहिले लण्डनमा जुलाई महिनाको पारिलो घाम छ । अनि त्यति राम्रो मौसमको सुनौलो फाइदा उठाउँदै सयकडौं मानिसहरु भट्टिपसलको ठीक बाहिरपट्टि मज्जाले बसेर सप्ताहन्तको दिन बियर पिइरहेको रमाइलो दृश्यवलोकन गर्न मिल्छ ।
हो, उनीहरुलाई देख्दा मलाई यदाकदा यस्तो लाग्ने गर्छ । यी लण्डनरहरु कति खुसियालीसाथ आफ्नो जिन्दगी जिइरहेका छन् । वास्तवमा यस धर्तीमा रहेका हरेक मानवहरुको जिन्दगी यस्तै प्रकारले बित्नु पर्ने हो तर यथार्थतामा त्यस्तो छैन् । बिलकुल फरक फरक छन् । यस्ले मलाई प्रतिविम्वको प्रभाव पार्छ । त्यहाँदेखि मेरो मन भुरुरु उडेर ४ हजार ६ सय माईल टाढा बुईपा-खोटाङ्मा पुग्छ । बुईपामा अहिले महाबर्खाको समय छ ।
उनीहरु मानो रोपेर मुरी फलाउने समय हो भनेर अहिले खेतका हिलोमा गोरुहरुसँगसँगै आफै जोतिएका छन् । जमिनमा बिहानी पखको झिसमिसे उज्यालो खसेदेखि बेलुकीपख झिसमिसे अँध्यारो भइन्जेलसम्म उनीहरु काममा खट्छन् । कति मेहनत र कठिन परिश्रम गर्छन् । तैपनि त्यहाँ जीवन जिउन कति गार्हो छ ।
बुईपा र लण्डनका मानिसहरुले बिताइरहेको जीवनको तुलना गर्दा गर्दै क्रुज लण्डन साघुँमुनि सुस्तरि बहिरहेको हुन्छ । त्यहाँ पुग्ने बितिक्कै, “थेम्स नदीको दुवैतर्फका मानिसहरुको सम्बन्ध गास्ने सबैभन्दा पहिलो साघुँ यो नै हो । अथवा यसलाई लण्डन ब्रिज भनिन्छ,” जोनले घोग्रो फुलाइ फुलाइ बोल्छ । त्यति बोलिसकेपछि ऊँ गोजिदेखि आफ्नो मोबाइल निकाल्छ र खै के के गर्न थाल्छ कुन्नि ? त्यसपछी म उनलाई हेर्न छाडिदिन्छु ।
यतिकैमा मुनि तला बारदेखि हातमा एक गिलास सेतो वाइन लिएर एकजना महिला टकटक हिल पटकाउदै मेरो नजिक आउछिन् र उनी मेरो नजिक आइपुग्ने बितिक्कै, -“मलाई माफ गर्नुहोला ? के म तपाई नजिकै खाली रहेको कुर्सिमा बस्नु सक्छु ?” आदरपूर्वक सोध्छिन् ।
“कुनै आपति छैन । बरु धन्दा नमानि आरामले बस्नु भए हुन्छ,” इच्छा बिपरित त्यसो भन्छु । मेरो कुरो सुनेर उनी पहिले एकचरण फिस्स हास्छिन् । त्यसपछि “धन्यबाद” भन्छिन ।
तर एकमनले उनी मेरो नजिक आएपछि मलाई राम्रै भयो जस्तो लाग्छ । अब मान्छे र प्राणीको जात एउटै त हो, भन्छु । किनभने बिपरित लिङ्गप्रति एकअर्कामा त्यसै आकर्षित भै हालिन्छ भनें । तर त्यहाँ त्यस्तो भएन, ठीक उल्टो भयो । उनी कुर्सीमा बस्ने बितिक्कै मेरो नाकको डाँडी भाँचिने गरेर आएको अत्तरको बासनाले मलाई थोरै असहज उत्पन्न बनाइ दियो । जे होस ठीक्कै छ सहनु पर्यो मनमनै भन्छु । एकछिनपछि अत्तरको बासनालाई म तिलान्जलि दिन्छु र उनीसँग छोटो परिचय गर्न सुरु गर्छु । त्यसपछि ती मैया ग्लास्को, स्कटल्याण्डदेखि यहाँ झरेकी रहेछिन् भनेर मैले चाल पाउछु ।
हाम्रो संक्षिप्त परिचय भैसकेपछि म उनलाई मज्जाले नियाल्न थाल्छु । त्यसै त अहिले लण्डनमा गृष्मकालिन मौसम छ । जस्ले गर्दा उनले पयरमा पातलो फ्यासफ्यास्से एकजोर चप्पल उनेकी छिन् । यसो हेर्दा चप्पल त्यति महङ्गो होइन होला भन्ने मलाई लाग्छ । उनले घुँडादेखि निक्कै माथिसम्म सेता तिघ्राहरु देखिने टार्टनको स्कर्ट पहिरेकी छिन् । ती सेता सेता तिघ्राहरुले मलाई कस्तो कस्तो अनुभूति हुन्छ । टार्टनको रङ्ग बिलकुल निलो छ तर मसिना मसिना राता धर्साहरुले कोठाकोठा छुट्याइएको त्यहाँ स्पष्ट देख्न सकिन्छ । उनले शरिरको माथिलो भागमा एउटा पातलो सेतो सर्ट पनि पहिरन गरेकी छे । तैपनि सर्ट यति पातलो छ कि त्योभन्दा भित्रको भित्रिया बस्त्र पनि म छ्याङ्छुङ देख्न सक्छु ।
उनको पहिरणलाई एकचरण नियाली सकेपछि यो कलियुग हो कलियुग मनमनै भन्छु । हुन त यसबेला म अन्त कतै नभएर आफ्नै श्रीमतीसँगसँगै एकातिर गज्जबले टाँसिएर बसिरहेको छु । तर भर्खरै परिचित भएकी एकजना गोरी युवती मेरो ठीक बायाँतिर आएर बसिरहेकी हुनाले र उनको नाङ्गैभुङ्गै फिलाहरुले मलाई यदाकदा अफ्ठ्यारो महसुस भैरहेको हुन्छ । अब त्यस्तो अफ्ठ्यारो परिस्थितिमा एकछिन आँखा दायाँबायाँ नहेरि सिधा हेरेर बस्नु पर्यो भन्छु ।
र, त्यसो गर्न थाल्छु । तर मनमनै सोच्छु । कुनैकुनै बेला अचानक यस्तो स्थिति पनि आइपर्छ । अनि के के कुराको सामना गर्नु पर्ने होला भनेर थैया मेरो जिन्दगी भन्छु । तर सिटिङ् बुध्दको मुर्ति जस्तै त्यति धेरै लामो चाहिँ बस्न सक्त्तिन । बरु टाउको सुस्तरि घुमाउछु र भयभित मुद्रामा भएपनि गोरीलाई सुस्तरि चिहाउन थाल्छु ।
यतिबेला उनी मेरो आँखाको ठीक सामु आनन्दले बसिरहेकी छिन् । मैले उनलाई हेर्दा, उनले पनि मलाई एकझलक नजर मार्छिन र सिरिप्पै एकचोटी वाइन पिउछिन् । आ….अब यहिँ हो मौका भन्छु र मौकाको फाइदा उठाउदै थोरै बोल्ने प्रयत्न गर्छु ।
“अनि लण्डन कहिले झर्नु भएको हो नि ?”
“हिजो बेलुकि झरेकी हुँ ।”
“यहाँ कति बस्नु हुन्छ ?”
“सप्ताहन्त मनाउनको लागिमात्र झरेकी हुँ, दुई दिन बस्छु र फिरिहाल्छु ।”
“ए ! हजुर, हजुर,” भन्छु ।
“मलाई लण्डन असाध्यै मन पर्छ । त्यसैले हरेक बर्ष यहाँ झर्ने गर्छु । अझै मलाई लण्डनको इतिहास ज्यादै मनपर्छ । किनभने त्यस बिषयमा मैले गहन अध्यान गरेकी छु,” उनी भन्छिन् । उनले लण्डनको बिषयमा गहन अध्यान गरेकी छु भनेपछि मलाई चिलाएको ठाउँमा कन्याएको जस्तो हुन्छ । त्यति राम्रो अवसरको फाइदा उठाउदै, – “ए हो र ? उसो भए हामी अहिले लण्डन ब्रिजको मुनी क्रुजिङ गरिरहेको छौं । यसको बिषयमा अलिकति बताइ दिनुहोस न त ?” बिनम्रतापूर्वक सोध्छु ।
एकदम पातली तर आकर्षक जिउकी धनी स्कटिस मैयाले मेरो कुरो सुनेर खुसि हुँदै फुर्तिको साथ एक हातमा वाइन र अर्को हातले साघुँतिर देखाउदै, – “वास्तवमा हामी जहाँ बहिरहेका छौं । यहाँ ४७ एडिमा रोमनहरुले एउटा काठे साघुँको निर्माण गरेका थिए । अहिलेको लण्डनलाई तिनताका लण्डनियम भनिन्थ्यो । यी हेर्नुहोस त – नदी किनारका कतिपय पर्खालहरु उनीहरुले नै बनाएका हुन् । तर दुर्भाग्यबस ४०० एडितिर उनीहरुले लण्डनलाई सधैँका लागि छाडेर गए ।
त्यसपछि यहाँ सेक्सनहरुको उदय भयो । उनीहरु यहाँ त्यति लामो समयसम्म टिक्न सकेनन् । सेक्सनहरुपछि भाइकिङहरुले निक्कै लामो समयसम्म लण्डनमा एकक्षत्र राज गरेका थिए । उनीहरुले नै थेम्स नदीमा सबैभन्दा पहिले काठे साघुँलाई परिवर्तन गरेर सन् १२०९ मा ढुङ्गे साघुँको निर्माण गरेका हुन्,” भनेर उनले बताइन । त्यसपछि उनी केहीबेर रोकिन्छिन् ।
“एकछिन है । मलाई लाग्छ – सन् १९७३ तिरको कुरो हो क्यारे । यहाँको पुरानो पुल भत्काएर नयाँ लण्डन ब्रिजहरु बनाइएका छन् । त्यसैले यहाँ एउटा मटर गुड्ने र र अर्को रेल गुड्ने दुईवटा लण्डन साघुँहरु छन् । यी साघुँहरु एकअर्कामा लगभग ५० मिटर जति फरक रहेका छन् । मटर दगुर्ने साघुँको लम्बाई २ सय ६९ मिटर र चौडाइ ३२ मिटरको छ ।
अझै लण्डन ब्रिजको सबैभन्दा रमाइलो पक्षचाहिँ के छ भने यी दुई साघुँको बिचभागमा तिनै मध्यकालिन समयमा बनेको साघुँको खम्बाहरु अझैसम्म सुरक्षित गरेर राखिएका छन् । लण्डनमा आगोलाग्दा त्यो साघुँको धेरैजसो भाग जलेर खरानी भएको थियो । यसको बिषयमा बेलायती प्राथमिक पाठशालामा हरेक नानीहरुले गाउने बाल गित लण्डन ब्रिज इज फलिङ् डाउन अहिलेसम्म ज्यादै प्रख्यात रहेको छ ।”
लगभग दुईहजार बर्षको इतिहासलाई उनले एक्कै सासमा सिध्याएपछि हृदयदेखि नै धन्यबाद भन्छु । हाते घडिको काँटा आफ्नै गतिमा घुमिरहेकै हुन्छ । क्रुजले क्रमशः आफ्नो गति लिइरहेकै छ । उनी बोल्न छाडेपछि हामी बसिरहेको सिरान तला एकछिन कोलाहलमय बन्छ । तर त्यस्तो वातावरणलाई चिर्दै ध्वनि प्रशारण यन्त्रदेखि जोनको मधुरो आवाज पुनः आउन थाल्छ ।
“ल हाम्रो देब्रेतिर हेर्नुहोस त ? सिधै अगाडि देखिएको त्यो अडभङ्गे घरलाई पहिले युनिक स्काइस्क्रेपर भनिन्थ्यो । अहिले यसको नाम परिवर्तन भएर वाकिटकि घर भएको छ । किनभने यसको आकार प्रहरीहरुले प्रयोग गर्ने रेडियो वाकिटकि जस्तै देखिन्छ । लण्डनको हरेक स्थानदेखि देख्न सकिने उक्त्त ३८ तले गगनचुम्वि घर २० फेनचर्च सडकमा अवस्थित रहेको छ । यस्को निर्माण हुन अगाडि घरको उँचाइ र आकारको बिषयलाई लिएर लण्डनरहरुले निक्कै घनिभूत छलफल गरेका थिए । अन्तत सन् २०१४ मा यसको निर्माण भइसकेपछि सिरान तलामा एउटा ठूलो बगैचा बनाइएको छ । त्यो बगैचा नै बेलायतको सबैभन्दा अग्लो स्थानमा रहेको बगैचा हो,” त्यति भनि सकेर जोन पुनः आराम गर्न थाल्छ ।
तर त्यसबेला जोनले त्यति धेरै आराम गर्नचाहिँ पाएन । किनभने हाम्रो क्रुज पानी माथि तैरिरहेको जलसेनाको अर्को एउटा पानीजहाज नजिक पुगिसकेको छ । तिनै पानीजहाजलाई देखाउदै, – “यो बेलायती जलसेनाको पानीजहाज एचएमएस बेलफास्ट हो । यसको निर्माण उत्तर आयरल्याण्डमा भएको थियो । जसले गर्दा यस्को नाम उत्तर आयरल्याण्डको राजधानी बेलफास्टको नाममा रहन गएको हो । यसको उदघाटन तत्कालिन बेलायती प्रधानमन्त्रि चेम्बरल्यानको श्रीमती आनाले सन् १९३८ को सेन्ट प्याट्रिक दिनमा गरेकी थिइन ।
लगभग ९ सय ५० जना जलसेना बोकेर हिड्ने अदभूत क्षमता भएको उक्त्त पानीजहाजले दोश्रो विश्वयुध्द र कोरियन युध्दमा अत्याधिक ख्याति कमाएको थियो । सन् १९७१ देखि पानीजहाज सेवा निबृत भएर सङ्ग्राहलयमा परिणत गरिएपछि थेम्स नदीको यिनै स्थानमा रहदै आएको छ,” उनी भन्छन् । त्यसपछि एकछिन रोकिन्छ र सुस्तरि एकझमट बायातिर हेर्छ, – “ल ! हेर्नुहोस त । एचएमएस बेलफास्टको ठीक बायाँतिर रहेको दरवार टाअर अफ लण्डन हो । राजा विलियमले सन् १०७८ देखि निर्माण गर्न सुरु गरेको यो दरवार बनाउन लगभग २० बर्ष समय लागेको थियो । अङ्ग्रेजी राजनैतिक इतिहासको मूख्य भूमिका खेल्ने यस दरवारलाई अहिले सङ्ग्राहलयमा परिवर्तन गरिएको छ,” जोनले भने ।
त्यति भनेर उनले आफ्नो वाक्यशंलाई पूर्ण बिराम लगाएपछि, म तिनै पुरानो दरवारलाई नदीमा बहिरहेको पानीदेखि निक्कै लामो समयसम्म हेर्छु । हुनत दरवार लगभग हजार बर्ष पहिले बनेको हुनाले खुइलिएर खैरो रङ्गमा परिवर्तन भैसकेको जस्तो देखिन्छ । अझै यो ढुङ्गा र कङ्क्रिटको थुप्रो वा पुरातात्विक दृष्टिले अति महत्वपूर्ण मानिने प्राचिन अवशेष जस्तो छ । दरवारको भित्ताहरुमा कहिँ कतै चम्किलो रङ्गको प्रयोग भएको देखिदैन । बरु रङ्ग गएर फुङ्गै उडेको भग्नावशेष जस्तो देखिन्छ ।
तिनै दरवारको ठीक सामुन्ने तर नदीको तटमा एउटा मामुलि सडक छ । जहाँ ढुङ्गाहरु काटेर पातलो गरेर बिछ्याइएका छन् । यदि त्यहाँ मज्जाले ध्यान दिएर हेर्ने हो भने शिवरात्री मेलामा पशुपति नाथको दर्शनमा हिडेका भक्त्तालुहरु झैं हुलका हुल पर्यटकहरु हिडिरहेको दृश्यवलोकन गर्न मिल्छ । दरवारको पछाडि दिशामा पानी जमाउने एउटा ठूलो खाडल छ । जहाँ सुरक्षाको दृष्टिले पहिले पानी राखेर तलाउ जस्तो बनाइन्थ्यो । अहिले त्यहाँ गहिरो घाँसे जमिनमात्र देख्न सकिन्छ । जो कोहि मानिस त्यो खाडलमा खसिहाल्यो भने बाहिर जमिनमा निस्कन निक्कै हम्मेहम्मे पर्दछ । अनि दरवारको पूर्व दिशामा चाहिँ टावर ब्रिजको केही भाग रहन गएको छ ।
हो, म यस दरवारमा निक्कै धेरैचोटी पुगेको छु । किनभने इतिहासको बिभिन्न कालखण्डहरुमा यस दरवारले अनेकौ रुप धारण गरेको देख्न र सुन्न पाइन्छ । यहाँ कहिलेकहिँ हात हतियार र खजनाहरु राख्ने गरिन्थ्यो त कहिले राष्ट्रको गरगहनाहरु र तिनको अभिलेखको कार्यलय बनेको थियो । तर समय शक्त्तिशाली र परिवर्तनशिल हुन्छ । त्यसैले समय परिवर्तन हुने क्रममा यो दरवार एकपटक झ्यालखानामा पनि परिवर्तन भएको थियो ।
हो, यो झ्यालखाना यहिँ हो । जहाँ राजा हेनरी छैटौंलाई थुनेर एडवार्डका सिपाहीहरुले बिभत्स हत्या गरेका थिए । यहाँ राजाको हत्या गरिएको घटनामात्र होइन । त्यस्तै दुःखलाग्दो अरु घटना पनि घटेका छन् । राजा हेनरी आठौँको ६ जना श्रीमतीहरु मध्ये आन बोलियन र क्याथरिन होवार्डलाई राजकाज सम्बन्धि महाअभियोग लगाएर थुनिएपछि यहिँ मृत्युदण्ड दिने निर्णय गरिएको थियो । तर मैले आज यस दरवारलाई निक्कै लामो समयसम्म नियालि रहँदा रानी आन बोलियनले मृत्युदण्ड पाउनु अगाडि आफ्नो श्रीमान हेनरी आठौँलाई लेखेकी अन्तिम पत्रको एक हरप याद गर्छु ।
“श्रीमान् ! म मेरो जीवनभन्दा हजुरलाई हजार गुणा बढि माया गर्छु, त्यसैले मलाई केहिसमय बाँच्ने रहर छ । कृपा गरेर मलाई बचाँइ दिनुहोस्, महाराज ।”
म त्यसबेला उनको पत्रलाई घरिघरि सम्झन्छु । जस्ले मेरो मस्तिष्क अहिले पनि घात हुने गर्छ । यस झ्यालखानामा तिनै महारानीहरुले मात्र मृत्युदण्ड पाएका चाहिँ अवश्य हुँदै होइनन् । राजद्रोह सम्बन्धि मुद्दा परेका अन्य प्रख्यात अभियुक्तहरु मध्ये वेस्टमिन्स्टर पार्लियमेन्ट भवनलाई भत्काउन खोज्ने गाइ फोक्स, थोमस विन्टर, एमब्रोस रुकवार्ड र रवर्ट किइज यहिँ थुनिएका थिए । उनीहरुलाई पनि ३१ जनवरी १६०६ मा मृत्युदण्ड दिइएको थियो ।
अझै ३५ बर्षे फोक्सलाई मृत्युदण्ड दिए पश्चात् उनको शरिरलाई चार टुक्रा बनाएर राजधानीको चार कुनामा लगेर झुन्डाएर अब देखि उसो कसैले राजा र राज्यको बिरुध्दमा कदम चाले यहि हालत हुनेछ भन्ने समाचार दिइएको थियो । हरेक बर्ष लगभग ३० लाख पर्यटकहरुले भ्रमण गर्ने यो दरवारलाई बिदाइ गरेपश्चात हामी नजिकै रहेको साघुँतर्फ सुस्तरि बहन सुरु गर्छौं । टावर अफ लण्डनको ठीक सामुन्ने खडा भएर रहेको उक्त्त साघुँलाई “टावर ब्रिज” भन्ने गरिन्छ ।
यसको निर्माण सन् १८८६ देखि सुरु गरेर १८९४ पूर्ण गरिएको थियो । साघुँको डिजाइन होरेस जोन्सले गरेको भएतापनि मूख्य इन्जिनियर भने जोन बेरी हुन् । दैनिक ४० हजार मटरहरुले पार गर्ने उक्त्त साघुँको लम्बाइ ८ सय फिट र उचाइ २ सय १३ फिट रहेको छ । ठूल्ठूलो पानीजहाजहरुले साघुँलाई पार गर्दा यो साघुँलाई उठाइने गरिन्छ । जस्ले गर्दा यो साघुँ नै लण्डनको ऐतिहासिक चिन्ह (ल्याण्डमार्क) रहन गएको छ । तर विश्वका धेरै मानिसहरु अलमलमा परेर टावर ब्रिजलाई लण्डन ब्रिज भन्ने गर्छन । जुन चाहिँ सत्य होइन ।
क्रुजले टावर ब्रिजलाई छाडेको केहिबेरपछि हामी क्यानरी वार्फ नजिकै पुग्छौं । यो लण्डनको मूख्य ब्यापारिक केन्द्र भएको हुनाले यहाँका घर, होटल र भवनहरु ज्यादै महङ्गा छन् । “यहाँको एक कोठे (फ्लाट) घरलाई एक मिलियन स्टरलिङ पाउण्ड पर्छ जस्ले गर्दा यहाँ विश्व लुटने डाकाहरु मात्र बस्छन्,” लगभग अन्तिम अन्तिम पटक जोनको मुख खोलिन्छ । उनले त्यसो भन्दै गर्दा मलाई कप्तान विलियम किडको याद आउँछ ।
डण्डी, स्कटल्ण्डमा जन्मेका कप्तान विलियम किड कुख्यात अन्तराष्ट्रिय सामुन्द्रिक डाका हुन् । सामुन्द्रिक डाका पेशा लिएका उनले लण्डनदेखि न्युयोर्कसम्म समुन्द्रमा डकैति गर्ने गर्दथे । निक्कै मेहनत गरेर उनलाई पक्राउ गरिएपछि २३ मे १७०१ मा यहाँ नजिकै थेम्स नदी किनारमा मानिसहरुलाई फाँसी दिने स्थान अनुष्ठान घाट (इक्चुकेसन डक) लगेर घाँटीमा पासो हालेर मार्ने प्रयत्न गरिएको थियो । तर ऊँ एकदमै बलियो भएको कारण पहिलो पटक डोरी चुँडिएर उनको मृत्यु हुन सकेन । त्यसपछि पुनः दोश्रो पटकको प्रयत्नमा उनलाई झुन्डाइएर मारिएको थियो ।
हुन त आजभोली मानिसहरुले जस्तोसुकै अपराध गरेको भएता पनि बेलायतमा प्राणदण्डको सजाय हुँदै हुँदैन । पिटर अलान र गुइन एभान्सले सन् १९६४ पाएका प्राणदण्ड नै बेलायतको सबैभन्दा अन्तिम सजाय थियो । त्यसैले बेलायतमा ज्यानको बदलि ज्यान (क्यापिटल पुनिसमेन्ट) सकि सकिएको छ ।
अब त्यो प्राणदण्डको सजाय राम्रो हो वा होइन म त्यतातिर जान चाहन्न । तर पानीजहाजदेखि आरामदायी यात्रा गरिरहेको समयमा सुनसान आन्ध्र महासागरमा अचानक हातहतियारसँग देखा पर्ने तिनै सामुन्द्रिका डाका विलियम किड र उनको सिपाहीहरु कस्ता देखिन्थे होला भनेर कल्पनाको विचार लिइरहँदा हाम्रो क्रुज ग्रिनविचको घाटमा रोकिसकेको हुन्छ ।
मैले घाट निरन्तर हेरिरहेको भएतापनि मेरो ध्यान सामुन्द्रिक डाकाहरुसँग भएको हुनाले सिधै अगाडिको घाटलाई देखिरहेको हुदिनँ । तर अचानक, – “अब झर्ने होइन र ?”
ताराले मेरो पछाडि ढाप मार्दै त्यसो भनेको सुन्दा म अनायसै झस्कन्छु तर सिधै मुनि थेम्सको पानीमा परेको मेरो छायाँले मलाई जिस्काइ रहेको देख्छु ।
