फेदीमा रेडपाण्डाको तस्बीर र भिडियो कैंद

खोटाङ, ४ बैसाख । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित चिलिम लाहुरे सामुदायीक वनमा पुःन रेडपाण्डा देखिएको छ । यसअघि पनि रेडपाण्डा देखिएको चिलिम लाहुरे सामुदायीक वनमा बैसाख २ गते पुःन रेडपाण्डा भेटिएको हो ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपाल खोटाङद्धारा सञ्चालित पुर्वी नेपालमा समुदायमा आधारित रेडपाण्डा (हाब्रे) संरक्षण परियोजना अन्तरगत समेटिएको सामुदायीक वनमा स्थानीय मनोज राईले रेडपाण्डा भेट्टाएका हुन् । राई रेडपाण्डाको तस्बीर र भिडियो कैंद गर्न सफल भएका छन् ।

जनकल्याण समाजका कार्यक्रम अधिकृत तेजबिनोद पोखरेलका अनुसार रेडपाण्डाको संरक्षणका लागि चिलिम लाहुरे सामुदायीक वनमा चिलिम–लाहुरे रेडपाण्डा ब्लक बनाइएको छ । परियोजनाले सो ब्लकमा धनकुमार राई र कुमारजङ राईलाई हेरालुको रुपमा राखेको छ ।

गत वर्ष सर्भेक्षणका क्रममा पनि रेडपाण्डा देखिएको जनकल्याण समाज नेपाल खोटाङका अध्यक्ष बिरेन्द्र मगरले बताए ।