राई समुदायको परम्परागत संस्कृतिमा कानेटोपी बनावटको सुनगाभाको महत्व

शुसिल चन्द्र राई

“सजावट मात्र होइन, संरक्षणको चिन्ता: (Dendrobium aphyllum) सुनगाभाको कथा” 

खोटाङ, ३० बैसाख । खोटाङ जिल्लाका राई समुदायमा परम्परागत संस्कार तथा धार्मिक अनुष्ठानमा प्रयोग गरिने महत्त्वपूर्ण वनस्पतिहरूमध्ये डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) पनि एक हो । यस वनस्पति विश्वब्यापी रूपमा सबैभन्दा बढी २५,००० देखि ३५,०००० फूल फूल्ने प्रजातीमा पर्दछ । यस वनस्पतिको अंग्रेजी नाम होडेड अर्किड (Hooded orchid) पनि हो । यस वनस्पतिको अंग्रेजी नाम (Hooded orchid) लाई नेपालीमा अनुवाद गर्दा कानेटोपी बनावटको सुनगाभा भनिन्छ (Mr. Lal Prasad Ghimire, Lecturer, English)

यो एक प्रकारको एपिफाइटिक सुनाखरी वा सुनगाभा हो, जसले रूखका हाँगामा टाँसिएर वृद्धि गर्छ । एपिफाइटिक वनस्पति भन्नाले कुनै पनि रूखका हाँगामा टाँसिएर वृद्धि गरेता पनि त्यस रूखका पोषण तत्व प्रयोग गर्दैन तर यस वनस्पतिको जिवन चक्र पूरा गर्नको लागि (Host plant) रूखका हाँगामा टाँसिने गर्छ ।

यो सुनगाभा समुद्र सतहको २००मि देखि १८००मि सम्म पाइएको तथ्यहरू छन् । यस सुनगाभा फूल फूल्ने समय चैत्र तेस्रो हप्ताबाट फूल फूल्न सुरू भइ जेष्ठ दोस्रो हप्ता सम्म फूल्ने गर्छ । यस प्रजातीहरू IUCN (International Union Conservation of Nature) मा कम चिन्ता जनकको रुपमा सुचीकृत गारिएको छ ।

राई समुदायको विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा यसलाई पवित्र मानिन्छ । विशेष गरी, जीवन चक्रसँग सम्बन्धित अनुष्ठानहरूमा यसको उपयोग गरिन्छ । विवाह, जन्म तथा मृत्युसम्बन्धी संस्कारमा समेत यस वनस्पतिको प्रयोग गरिन्छ । जस्तै, विवाहको समयमा केटी माग्न जाँदा यो सुनगाभाको प्रयोग गरिन्छ ।

स्थानीय चन्द्रकला राई “यस सुनगाभाको बोट भित्रको रेसाबाट परम्परागत रुमालमा झुण्डाउने फुर्का पनि बनाउने गरिन्छ, जसले गर्दा रुमाललाई आकर्षक बनाउछ । यस फूललाई थुलुङ राई भाषामा ओमृ बुङ्ग भनिन्छ । ओमृ भनेको सुनगाभा र बुङ्ग भनेको फूल हो” ।

स्थानीय बुढापाकाका अनुसार डेन्ड्रोबियम अफाइलमलाई शुभ चिन्ह मानिन्छ र यसलाई देवताको आशीर्वाद प्राप्त गर्ने साधनका रूपमा लिइन्छ । साथै, यसको औषधीयगुणले महत्व पनि रहेको विश्वास गरिन्छ । जस्तै, पाँचऔंले, जट्टामसी ।

पारम्परिक ज्ञान अनुसार, यस वनस्पतिलाई केही प्रकारका रोगहरूको उपचारमा समेत प्रयोग गरिन्छ तर हालका वर्षहरूमा प्राकृतिक वनस्पतिको अवैध दोहन र वासस्थान विनाशका कारण यो प्रजाति संकटमा पर्न सक्ने चिन्ता बढ्दो छ । स्थानीय संरक्षण अभियन्ताहरूले यसको संरक्षण तथा दीर्घकालीन उपयोगका लागि सचेतना अभियान सञ्चालन गरिरहेका छन् । तर मेरो अनुमानमा धेरैजसो सुनगाभा प्रजातिहरू यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (खोटाङ)मा पाइन्छ तर अनुसन्धान भइरहेको छैन ।

विभिन्न प्रजातिका बारेमा अनुसन्धान गर्न चाहने विद्यार्थीले अनुसन्धानका लागि सहयोग र कोष नपाउँदा नगरपालिकालाई सहयोग पुर्‍याउने विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिको खोजी गर्ने अवसर पनि पाएका छैनन् । विद्यार्थीहरूको लागि अनुसन्धान परियोजनाको लागि निश्चित बजेटहरू वितरण गर्नुपर्छ ।

वनस्पतिविज्ञहरूका अनुसार, एपिफाइटिक सुनगाभाहरूको संरक्षणका लागि जैविक विविधताको प्रवर्द्धन गर्न आवश्यक छ । यसले पारिस्थितिक सन्तुलन कायम राख्न मद्दत पुर्‍याउनका साथै साथै स्थानीय समुदायको संस्कृतिक सम्पदाको पनि रक्षा गर्दछ ।

राई समुदायले परम्परागत ज्ञानलाई संरक्षण गर्दै यस सुनगाभाको संरक्षणमा योगदान दिएमा यो जैविक विविधताको दिगो व्यवस्थापनका लागि महत्त्वपूर्ण हुनेछ । (लेखकः सुनगाभा विषयका अनुसन्धानकर्ता हुनुहुन्छ ।)