उमेरको सम्झना मात्र हैन, उत्तरदायित्वको आत्ममूल्याङ्कन

लोकनाथ घिमिरे 

काठमाडौं, २७ जेठ ।

भूमिका:

उत्सवभन्दा परको अनुभूति : जन्मदिनलाई हामी प्रायः फूल, मिठाई र शुभकामनामा सीमित गरेर हेर्छौं । आफन्त, साथीभाइ र सहकर्मीबाट आउने शुभकामनाले त्यो दिनलाई विशेष अवश्य बनाउँछ। तर आज म त्यो सामान्य प्रवृत्तिभन्दा बाहिर मनन् गर्देछु । उमेर थपिने दिन केवल उत्सव होइन, आत्ममूल्याङ्कन र प्रतिबद्धता नवीकरण गर्ने अवसर पनि हो ।

म आफैसँग प्रश्न गर्न गर्देछु. मैले विगतका वर्षहरू कसरी बिताएँ ? के मेरो योगदान मेरो उमेरको मूल्य जति छ ? जीवन एक दिनको या एक वर्षको मात्रै मूल्यांकन होइन तर प्रत्येक जन्मदिनमा हामीले एकपटक गहिरो नजरले विगत हेर्न जरुरी हुन्छ। त्यसैबाट भविष्यको बाटो कोर्न सकिन्छ।उमेर थपिँदै जानु केवल समयको गन्ती होइन, चेतनाको परिपक्वताको साक्ष्य हो । जन्मदिनको उत्सव बाहिरी हर्ष होइन, भित्री उत्तरदायित्वबोधको क्षण हो । आज म सोध्दैछु मैले के गरें ? समाजका लागि के बाँकी छ ? परिवर्तनको बाटो अरूबाट होइन, मबाट सुरु हुन्छ । जीवनको प्रत्येक वर्ष उत्तरदायित्वले भारी हुनुपर्छ, हैसियतले होइन । म सधैं सम्झन चाहन्छु, जन्मदिन संयोग हैन, प्रतिबद्धता नवीकरण गर्ने दिन हो ।

. आत्ममूल्याङ्कन, समयसँगै बढेको जिम्मेवारी: उमेर बढ्दै जाँदा शरीरमा थकान आउन सक्छ, तर सोचमा स्पष्टता, दृष्टिमा गहिराइ र संवेदनशीलतामा परिपक्वता आउन आवश्यक छ । जीवनका अनेकन मोड पार गर्दै गर्दा म अब त्यस्तो चरणमा छु, जहाँ “किन बाँचेको छु र ?” भन्ने प्रश्नले निरन्तर घच्घच्याइरहन्छ । यो प्रश्न सहर्ष लिइएको हैन, यो उत्तर खोज्न बाध्य बनाउने गम्भीर प्रश्न हो ।

मैले मानव अधिकार, सुशासन, सामाजिक न्याय, र सामाजिक सचेतनाका विषयमा लामो समयदेखि कलम चलाउँदै, बहस गर्दै र क्रियाशील रहँदै आएको छु । तर यो लेखन, वकालत र बहसले वास्तवमा समाजमा परिवर्तन ल्यायो त ? के मैले भन्न खोजेको कुरा आम नागरिकसम्म पुग्यो त ? के म आफैँले गरेका कुरामा इमानदार रहन सकेँ ? यी प्रश्नहरू सजिला छैनन् । यिनीहरूको जवाफ सजिलो छैन। तर आत्ममूल्याङ्कन भनेको सजिलो प्रश्नको सजिलो उत्तर होइन, त्यो त भित्रि चेतनाको ऐना हेर्ने कार्य हो ।

. उत्तरदायित्व हैसियतले होइन, चेतनाले नापिने कुरा: एक व्यक्तिले आफ्नो हैसियत, पद वा पहुँचबाट होइन, उसको चेतनाको स्पष्टता र उत्तरदायित्वप्रति निष्ठाबाट मूल्यांकन हुनुपर्छ । म आफूलाई के–के पदमा पुगेँ, कस्तो कस्तो पावर एक्सरसाईज गरे भनेर हेर्न चाहन्न । म त्यो मान्छे बन्न चाहन्छु जसले पद नभए पनि जन–मनको सम्मान कमाएको होस् । म बुझ्दै छु “जीवन केवल आफ्नो लागि होइन, अरूको लागि केही गर्ने क्षमता आर्जन गर्ने प्रक्रिया हो” मानव अधिकार र सामाजिक न्याय, सामाजिक परिवर्तनका कुरा गर्ने बेलामा, त्यो कुरा केवल सिद्धान्तमा सीमित हुने हो भने त्यसले अर्थ राख्दैन । त्यसका लागि व्यवहारमै देखिने उदाहरण बन्नु पर्छ ।

मैले लेखेको, बोलेको र सोचेको कुरा मैले बाँच्न सकेँ त ? मैले अरूलाई आग्रह गर्ने मूल्यहरू आफूमा अवलम्बन गरेँ त ? म भन्छु, जन्मदिन केवल जीवनको अवधि गन्ने दिन होइन, त्यो त “उत्तरदायित्वको पुनर्पुष्टि” गर्ने दिन हो । व्यक्तिको विचार, कर्म र प्रतिबद्धता यी नै हुन् उसको साँच्चिकै पहिचान ?

. निष्कर्ष: नयाँ प्रतिबद्ताको सङ्कल्पजीवन सधैं चुलो, चौका र चौतारीमा मात्र सीमित छैन ! त्यसको प्रभाव सामाजिक संरचना र सिष्टमसम्म पुग्नुपर्छ । हाम्रो एउटा सानो सोच, एउटा लेख, एउटा क्रियाले अरूको जीवनमा आशा र उज्यालो ल्याउन सक्छ । त्यसैले म आज यो जन्मदिनमा नयाँ प्रतिबद्धता गर्न चाहन्छु ।

अरूलाई दोष देखाउनेभन्दा अघि, आफूलाई सुधार्ने प्रयत्न गर्नेछु । सोध्नेछु, लेख्नेछु, तर सबैभन्दा पहिला बुझ्नेछु । नयाँ पुस्तालाई मूल्यबोध, अनुशासन र चेतनाको शिक्षा दिने प्रयास गर्नेछु ।सच्याउने कुरा अरूबाट होइन, आफैबाट सुरु गर्नेछु । आज मलाई लाग्छ, “उमेरको सम्झना” केवल व्यक्तिगत घटना होइन । त्यो त समाजका लागि अझ जिम्मेवार र परिपक्व व्यक्ति बन्ने संकल्प लिने अवसर हो । अनि “उत्तरदायित्वको आत्ममूल्याङ्कन” कुनै विशेष दिनको काम होइन, त्यो त प्रत्येक दिन अभ्यास गर्ने जीवन पद्धति हो ।

उमेर थपिँदै जानु केवल समयको गन्ती होइन, चेतनाको परिपक्वताको साक्ष्य हो । जन्मदिनको उत्सव बाहिरी हर्ष होइन, भित्री उत्तरदायित्वबोधको क्षण हो । आज म सोध्दैछु, मैले के गरें? समाजका लागि के बाँकी छ? परिवर्तनको बाटो अरूबाट होइन, मबाट सुरु हुन्छ। जीवनको प्रत्येक वर्ष उत्तरदायित्वले भारी हुनुपर्छ, हैसियतले होइन। म सधैं सम्झन चाहन्छु, जन्मदिन संयोग हैन, प्रतिबद्धता नवीकरण गर्ने दिन हो ।

जन्मदिन एक संयोग हो, तर त्यस दिन गरिने प्रतिवद्धता, कर्म र सोच हाम्रो जीवनको नयाँ दिशा बन्न सक्छ । आज म फेरि आफूलाई सम्झाउँदैछु, “जसरी समयले मसँग हिसाब मागिरहेको छ, म पनि आफ्नै सोच र कर्मसँग गहिरो हिसाब माग्नेछु” ।