
इटहरी, १२ भदौ । फिल्म ‘माइतीघर’को ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको शीर्ष गीत सार्वजनिक गरिएको छ । आगामी दशैंको फुलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको गीत भदौ १२ गते ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । निर्माण यूनिटले लामो प्रतिक्षापछि दर्शकलाई एकपटक पुरानो स्मृतिसँगै नयाँ स्वाद दिने जमर्को गरेको छ ।
किरण खरेलको शव्द र दिवंगत जयदेवको संगीत रहेको सो गीतमा गायिका सञ्जिवनीको स्वर रहेको छ । यसअघि चर्चित गायिका आशा भोस्लेले गाएको पुरानो गीतलाई नयाँ रूप दिएर पुनः दर्शकमाझ ल्याइएको निर्माता रोहित अधिकारीले बताए ।
भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । आकर्षक लोकेशन, दर्जनौं कोरस डान्सर र मानकृष्ण महर्जन, सुशन प्रजापतिको सुन्दर छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाएको छ । भिडियोको अर्को आकर्षक पाटो भनेको यसमा नेपालको चुच्चे नक्सालाई मेहनतका साथ प्रस्तुत गरिएको छ । सुन्दर पहाडमा नेपालको झण्डा बोकेर नृत्य गरेको दृश्यले मन आनन्दित बनाउँछ । कोरियोग्राफीमा कविराज गहतराज रहेका छन् ।
सार्वजनीक गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । निर्देशक मिलन तामाङले निर्देशन गरेको फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने, ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।
रामशरण पाठकको लेखन र चन्द्रकुमार दोङको कथा समेटिएको फिल्ममा केदार प्रसाद घिमिरे ’माग्ने बुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका निर्माण युनिटले यस गीतमा यसअघि नै नृत्य प्रतियगिताको घोषणा गरिसकेको छ । प्रतियोगीतामा सहभागी हुन इच्छुक व्यक्तीले ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो पठाउनु पर्नेछ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्माता अधिकारीले जानकारी दिए ।
भिडियो-
