
खोटाङ, १८ भदौ । खोटाङको केपिलासगढी गाउँपालिकाले घुम्ती शिबिरमार्फत २०७ लाभग्राहीलाई सेवा दिएको छ । गाउँपालिकाले काठमाडौं र धरानमा घुम्ती शिबिर सञ्चालन गर्दै २०७ लाभग्राहीलाई सेवा दिएको हो । शिविरबाट १२८ लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण, ५५ जनालाई राष्ट्रिय परिचय–पत्र वितरण र २४ जनाबाट मालपोत कर संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।
चाहेर पनि वडा कार्यालय वा गाउँपालिका पुगेर सेवा लिन नसकिरहेका नागरिकलाई लक्षित गर्दै काठमाडौं र धरानमा पुगेर शिबिर सञ्चालन गरिएको हो । विशेषगरी बिरामी, वृद्धावस्था र शारीरिक रुपमा अशक्त सेवाग्राहीका लागि तत्तत् स्थानमा सेवा उपलव्ध गराइएको हो । पालिकाको श्रोतलाई मितव्यायी बनाउन निःशुल्क प्राप्त हुने सार्वजनिक, सामुदायिक, संस्थागत तथा निजी व्यवसायिक प्रतिष्ठानको हलमा शिबिर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले इटहरीमा घुम्ती शिबिर सञ्चालन गरिरहेको छ । काठमाडौंमा शिबिर सञ्चालन गरेको नगरपालिकाले भदौ १६ गतेदेखि शिबिर सुरु गरेको हो । सो शिबिर भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । यसअघि ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले पनि काठमाडौं र सुनसरीमा शिबिर सञ्चालन गरिसकेको छ ।
