‘माइतीघर’ रिलिज अघिदेखि नै दर्शकमाझ चर्चामा

इटहरी, १७ भदौ । फिल्म ‘माइतीघर’ रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा आएको छ । असोज १३ गते फूलपातीका दिनबाट प्रदर्शनमा आउने यो फिल्मको शिर्ष गीतसँग जोडिएको नृत्य प्रतियोगिताले पनि दर्शकमाझ उत्साह सिर्जना गरेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा दर्शकहरुले अप्रत्याशित सहभागीता जनाएका छन् ।

निर्माता रोहित अधिकारीका अनुसार सुरु भएको २४ घन्टाभित्रै हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेको छ भने ओएसआर डिजिटलका सामाजिक सञ्जालमार्फत १५–२० लाख भ्यूज आइसकेका छन् । उनले दर्शकको यो उत्साहले टिमलाई अझै ऊर्जा थपेको बताए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सुरुमा प्रथम हुनेलाई मात्रै पुरस्कार दिने घोषणा गरिएको थियो तर निर्माण पक्षले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कार दिने निर्णय गरेको छ । सहभागीता जनाउने कतिपयलाई खाली हात नपार्ने प्रतिबद्धता गरिएको छ ।

सञ्जिवनीको स्वरमा सार्वजनिक भएको गीतमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा तयार गीतलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवादमा बनेको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।