साकेलाका ५८२ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण

खोटाङ, ९ असोज । खोटाङको साकेला गाउँपालिकाले दशैंतिहारको छेको पारेर एक करोडभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वापत जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका ५८२ लाभग्राहीहरुलाई एक करोड एक लाख ६३ हजार रुपैयाँ वितरण गरेको हो । ५ वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको जनाएको छ ।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई ३८ लाख २१ हजार, साकेला गाउँपालिका–२ रतन्छाका १२३ जनालाई १८ लाख ५८ हजार, साकेला गाउँपालिका–३ खिदिमाका ८८ जनालाई १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले बताए ।

गाउँपालिकाले नेपाल एसबिआई बैंकको साकेला शाखासँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । कतिपयले बैंकको मानेभन्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

बैङ्किङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्तालाई गाउँपालिकाले पहिलादेखि नै वडा–वडा पुगेर वितरण गर्दै आएको छ । भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन शारीरिक कष्ट र दुःख हुने भएकाले घर पायकमा शिविर राखेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।