मध्यपहाडी सडकमा ट्याक्टरले जीप तान्नुपर्ने वाध्यता

खोटाङ, २६ असोज । असोज १३ गते दिक्तेलबाट यात्रु लिएर धरान जाँदै गरेको प्र १–०२–००१ ज ४६४८ नम्बरको जीपलाई सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्न हम्मे पर्‍यो । वर्षाको पानीले हिलाम्मे बनेको सडक पार गर्न जिपलाई कठिन भएको थियो । पटक–पटक फोर ह्वील लगाउँदा पनि जीपले हिलाम्मे सडक पार गर्न सकेन ।

यात्रुलाई ओर्‍हालेर रित्तो बनाउँदा पनि जीप ‘घ्याच्च–घ्याच्च’ मात्र भयो । अन्ततः ट्याक्टरले तानेर जीपलाई हिलाम्मे सडक पार गराइयो । त्यहीदिन ना १ ज ५३२१ नम्बरको सुमोलाई पनि ट्याक्टरले तानेर हिलाम्मे खण्ड पार गराइएको थियो ।

सेखुवा–चखेवा सडक पुष्पलाल मध्यपहाडी लोकमार्गको एक खण्ड हो जुन खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा पर्छ । १० किलोमिटर सेखुवा–चखेवा सडक अन्तरगत बाँझेच्यानडाँडाको बादुङ खण्डमा जीप घण्टौं अड्किनु, यात्रु अलपत्र पर्नु सामान्य जस्तै बनेको छ । सुमो बाटैमा अल्झिएपछि यात्रुको बिचल्नी हुने गरेको छ । सडकमा फसेको जीपलाई १,५०० तिरेर निकाल्ने गरिएको यातायात व्यवसायी दिपक कट्वाल बताउँछन् ।

ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीले सम्झौता अनुसार काम गरिदिएको थियो भने सेखुवा–चखेवा सडक २०७५ सालमै कालोपत्रे भइसक्थ्यो तर सो जेभीको ढिलासुस्तीका कारण सडक हालसम्म अलपत्र बन्न पुगेको हो ।