‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

खोटाङ, २ मंसिर । संगीतकर्मी रोशन अधिकारीको ‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । खोटाङको साँस्कृतिक, भौगोलिक तथा सामाजिक पहिचान समेटिएको गीतको भिडियो ‘रोशन भाई’ यु–टुबमार्फत सार्वजनिक गरिएको हो ।

खोटाङको इतिहास, प्रकृति, जातीय विविधता तथा सामुदायिक एकतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको गीतमा भ्वईस अफ नेपाल सिजन सेभेनका प्रतिष्पर्धी सागर संसार राई र स्वयं रोशन अधिकारीको स्वर रहेको छ ।

अधिकारीकै शव्द र संगीत रहेको गीतको संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ सागर संसार राईले गरेका हुन् । गीतको रेकर्डिङ मिस्टर डिजे मेवाहाङ राई र गीतको सम्पूर्ण काम माहोल स्टुडियोमा गरिएको हो ।

गीतमा खोटाङको भौगोलीक सौन्दर्य, स्थानीय जीवनशैली र सामुदायिक मौलिकतालाई केन्द्रमा राख्दै जन्मभूमिप्रतिको गहिरो प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा खोटाङकै टेम्के, सेल्मे, साप्सु, तावा खोला, दिप्रुङ झरना, धोद्रेश्वर, मपारुङ, मानेभञ्ज्याङ बजार लगायतका स्थानहरुको प्राकृतिक तथा सांस्कृतिक विशिष्टताको वर्णन गरिएको छ । साकेला गाउँपालिका–५ मात्तिमबिर्ता निवासी गीतकार तथा संगीतकार अधिकारीको यो पहिलो भिडियो गीत हो । ‘यो गीत खोटाङ र खोटाङवासीप्रतिको सम्मान हो,’ गीतकार तथा संगीतकार अधिकारीले भने, ‘कलाको माध्यमबाट स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्धेश्यले यो भिडियो गीत तयार पारिएको हो ।’

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, वडाध्यक्ष जीवन खत्री, चक्रप्रसाद फुयाल, कल्याण कटवाल, राजन गुरुङ, गंगाराम राई लगायतको सहयोगमा भिडियो गीत तयार पारिएको हो ।

भिडियो लिंक