
काठमाडौं, २८ चैत । प्रतिनिधिसभा सदस्य आरेन राईले खोटाङबाट सामान्य सेवा सुविधाको लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको औंल्याएका छन् । खोटाङ सेवा समाजले चैत २८ गते भक्तपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईले खोटाङमै शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रमका अन्य वक्ताहरूले पनि दीर्घकालीन विकासका लागि स्थानीय श्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् । उनीहरूले जिल्लाको पूर्वाधार विकास, लगानी प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न राज्यसँगै निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरेका थिए ।
सल्लाघारीमा आयोजित कार्यक्रम समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, सरस्वती बजिमय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा खोटाङबाट राजधानी पुगेर बसेका पेशाकर्मी, व्यवसायी, संगीतकर्मी, विद्यार्थी, पत्रकार तथा विभिन्न राजनीतिक दलमा आबद्ध खोटाङेहरूको सहभागीता रहेको थियो ।
