परिक्षार्थी दुई जना, उत्तरपुस्तिका तीन थान !

खोटाङ, २७ बैसाख । खोटाङमा शिक्षक छनौटका लागि सञ्चालन गरिएको परीक्षा विवादका कारण अनिर्णीत बनेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि, इजाराको बाली विज्ञान सहायक प्रशिक्षक छनौट परीक्षा विवादका कारण भाँडिएको हो । विद्यालयका लागि एक जना आइएससी एजी शिक्षक छनौटका लागि बैसाख २४ गते गाउँपालिकाको कार्यालयमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना र जन्तेढुंगा गाउँपालिकाका एक जना परिक्षार्थी सहभागी भएका थिए तर नतिजा प्रकाशन अगावै परीक्षा विवादित बनेको हो । दुई जना परीक्षार्थी सहभागी भएको परीक्षामा तीन वटा उत्तर पुस्तिका भेटिएकाले परीक्षामा विवाद निस्किएको परीक्षा सञ्चालन समितिका संयोजक एबं विव्यास अध्यक्ष मेघराज दंगालले बताए ।

दंगालका अनुसार पहिलो पेपरको परीक्षा सकिएपछि उत्तरपुस्तिका संकलन गरेर गाउँपालिकाको शिक्षा शाखालाई बुझाइएको थियो । शाखाले कोड नम्बर राखेर मूल्यांकनका लागि परीक्षा समितिलाई उपलव्ध गराएको उत्तरपुस्तिका ‘साटफेर’ भएको पाइएपछि विवाद निस्किएको अध्यक्ष दंगालले दावी गरे ।

अध्यक्ष दंगालले परीक्षा अगावै दुबै उत्तरपुस्तिकाको शिरपुछारमा हस्ताक्षर गरेका थिए तर शाखाबाट कोडिङ गरिएको एउटा उत्तरपुस्तिका भने हस्ताक्षर नभएको भेटिएको दंगालले बताए । शंका लागेर हस्ताक्षर भएको उत्तरपुस्तिकाको खोजी भएपछि गाउँपालिकाका विद्यालय निरीक्षक रणशेर तामाङले हस्ताक्षर भएको अर्को उत्तरपुस्तिका ल्याएको दंगालको दावी छ । दुई जना परीक्षार्थी भएको परिक्षामा एकाएक तीन थान उत्तरपुस्तिका भेला भएकाले परीक्षामा धाँधली भएको पूष्टि भएको दंगालले बताए । दुई परिक्षार्थी सहभागी परीक्षामा तीन थान उत्तरपुस्तिका भेटिएपछि शिक्षक छनौट परीक्षा अन्योलमा परेको छ । परीक्षालाई स्थगन गर्ने वा मान्यता दिने विषयमा कुनै धारणा नआउँदा परीक्षार्थी अन्योलमा छन् ।

हस्ताक्षर भएको एक थान र हस्ताक्षर नभएको एक थान उत्तरपुस्तिका आफ्नो साथमा रहेको दंगालले बताए । हस्ताक्षर भएको एक थान उत्तरपुस्तिका भने गाउँपालिकाको प्रहरी हवल्दारलाई बुझाएको तर पछि खोजी गर्दा गायव पारिएको दावी गरे । विषयविज्ञ हिकमत बोगटी, शिक्षा समितिका प्रतिनिधि सुनिता बिक लगायतको अगाडि एक थान उत्तरपुस्तिका गाउँ प्रहरी हवल्दारलाई दिएको दंगालले बताए । परीक्षामा ‘फर्जी’ उत्तर पुस्तिका निस्किएको भन्दै दंगालले छानबिनका लागि जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई बैसाख २५ गते निवेदन दिएका छन् । उत्तरकुञ्जिकामा पनि प्रश्न नम्बर २१ देखि २६ र प्रश्न नम्बर २८ देखि ३७ सम्म अप्सन ‘बी’मा ठीक चिह्न लगाउनुपर्ने देखिन्छ जसले परीक्षार्थीलाई सजिलो हुनेगरि प्रश्नपत्र तयार पारिएको अर्थ लगाइएको छ ।

परिक्षार्थी संख्याभन्दा बढी उत्तरपुस्तिका भेटिएको भन्दै दंगाल दुई थान उत्तरपुस्तिका लिएर हिँडेपछि परीक्षा रोकिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणीकुमार गिरीले बताए । गिरीका अनुसार विव्यास अध्यक्ष उत्तरपुस्तिकामा लाहा छाप लगाउने, मुचुल्का उठाउने, सिलबन्दी गर्ने लगायतका प्रकृया पुरा नगरी बेवारिसे तरिकाले हिँडेको आक्षेप लगाए । विद्यालय निरीक्षक तामाङले पनि विव्यास अध्यक्षबाट परीक्षा सञ्चालन विधि अनुसार बैठक नराखिएको तथा तीन थान उत्तरपुस्तिका भेटिएको पूष्टि गर्ने मुचुल्का उठाउने, खाम बन्दी गर्ने जस्ता कानुनी प्रकृया पुरा नगरिएको प्रतिक्रीया दिए । विद्यालयमा आफ्नो मान्छे भर्ती गर्ने ‘इन्ट्रेष्ट’ बाँझिएकाले बखेडा निस्किएको गाउँपालिकामा चर्चा छ ।

राम्चे निकेतन माविको लेखा कर्मचारीको परीक्षा पनि सञ्चालन गरिएको थियो तर कोही पनि उत्तिर्ण नभएको विद्यालयले जनाएको छ ।