
खोटाङ, ११ असार । खोटाङको साकेला गाउँपालिकाले अन्य स्थानबाट बसाइ सरी आउने परिवारलाई प्रोत्साहन रकम दिने नीति तथा कार्यक्रम ल्याएको छ । बढ्दो बसाई सराईका कारण जनसंख्या घटिरहेको तथ्यलाई मनन गर्दै गाउँपालिकाले अन्य स्थानबाट बसाई सरेर आउने परिवारलाई प्रोत्साहन तथा सम्मान गर्ने नीति तथा कार्यक्रम पास गरेको हो । असार १० गतेको गाउँसभामा गाउँपालिका उपाध्यक्ष बिर्सीका राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बसाइ सरेर आउने परिवारलाई प्रोत्साहन स्वरुप पाँच हजार दिने उल्लेख छ ।
गाउँपालिकाको जनसंख्या सन्तुलन कायम राख्नका लागि बसाइ सरेर आउने परिवारलाई घट्ना दर्ता पश्चात वडा कार्यालयको सिफारिसमा प्रोत्साहन रकम प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि नै बसाइ सरी आउने परिवारलाई प्रोत्साहन रकम दिने नीति तथा कार्यक्रम लागू गरेको हो । तिब्र बसाइ सराई गाउँपालिकाको प्रमुख चुनौतीको रुपमा खडा भएकाले सो कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।
पाँच वडा रहेको साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड ५७ लाख ६५ हजार बराबरको बजेट प्रक्षेपण गरेको छ । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
