खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ

खोटाङ, २७ असार । खोटाङमा खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा मोहोरियाका ३८ वर्षीय ध्रुब भनिने भक्तबहादुर अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँका ५२ वर्षीय भोटीमायाँ सार्की र २२ वर्षीया सिता सार्की पक्राउ परेका हुन् ।

आपसी लेनदेनको विषयमा झगडा हुँदा ५७ वर्षीया तिलबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अधिकारीको असार २५ गते घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै तिलबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका भोटीमायाँ र सिता तिलबहादुरका श्रीमती र छोरी हुन् । मृतक परिवारले असार २६ गते तिलबहादुरसँगै भोटीमायाँ र सिता विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । भोटीमायाँ र सितालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

विपन्न अवस्थाका भक्तबहादुरले आफ्नै हातेट्याक्टरले खेतबारी जोतेवापत आउने ज्यालाबाट परिवार चलाउँदै आएका थिए । भक्तबहादुरले मकै छर्नका लागि गत फागुनमा तिलबहादुरको खेत जोतिदिएका थिए । त्यही खेत जोतिदिएको ज्याला माग्नेक्रममा विवाद हुँदा तिलबहादुरले खुकुरी प्रहार गर्दा भक्तबहादुरको घट्नास्थलमै मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानमा खेत जोतेको रकम ‘चार हजार कि पच्चिस सय’ भन्ने विषयमा विवाद हुँदा तिलबहादुरले भक्तबहादुरलाई खुकुरी प्रहार गरेको खुलेको डिएसपी बुढाथोकीले बताए । भक्तबहादुरको मृत्यु भएपछि गर्भवती अवस्थाकी श्रीमती र दुई नावालिका छोरीको बिचल्नी भएको छ ।