सेउती खोला आसपासमा बृक्षारोपण

इटहरी, ३२ असार । इटहरी आसेज वाओले सेउती खोला आसपासमा बृक्षारोपण गरेको छ । इटहरी वर्किङ मिसन अन्तरगत इटहरी आसेज वाओमा आवद्ध युवाले तरहरास्थित सेउती खोला आसपासमा वृक्षारोपण गरेका हुन् । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न प्रजातीका करिब चार सय विरुवा रोपिएको इटहरी आसेज वाओका सदस्य नविन राना मगरले जानकारी दिए ।

वृक्षारोपणमा इटहरी उपमहानगरपालिका–१० का वडाध्यक्ष मणिराम श्रेष्ठ र तरहरा सव–डिभिजन वन कार्यालयका अधिकृत विन्देश्वर साह लगायतको उपस्थिति रहेको थियो । अभियानले सेउतीखोला आसपासको खाली ठाउँ हराभरा बन्ने तथा वातावरण संरक्षण र जैविक विविधताको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

इटहरी आसेज वाओले ‘सेभ द अर्थ फ्रम ए टु जेड’ र ‘वि आर वन फेमिली’ भन्ने नारासहित वातावरणमैत्री अभियान सञ्चालन गर्दैआएको छ । आसेजले आगामी दिनमा पनि वातावरण संरक्षण सम्वन्धी अभियानलाई निरन्तरता दिँदै हरित वातावरण निर्माणमा सक्रिय रहने जनाएको छ ।