
खोटाङ, १ साउन । खोटाङको जन्तेढुंगा गाउँपालिकाले तीन हजार केजी आलु फलाएको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत गाउँपालिकाले अनुमानित तीन हजारदेखि ३५ सय केजी आलु फलाएको हो । आलु खेतीको प्रवद्र्धनका लागि जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा आलुखेती लगाइएको थियो । उत्पादित आलुलाई भण्डारण गरेर विक्रीवितरणको व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।
गाउँपालिकाले चिसापानीमा सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएको आलु प्रतिकेजी ६० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ । हालसम्म ९५० केजी आलु बिक्री भइसकेको गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराईले बताए । आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाले आन्तरिक श्रोतमा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।
