
खोटाङ, ५ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको छ । त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । ऐसेलुखर्कका आठ घर सम्मिलित सामुदायीक होमस्टे साउन २ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गरेका छन् ।
हलेसी नजिकै रहेको ऐसेलुखर्कको किरात चाम्लिङ राई वस्तीमा नगरपालिकाकै प्रवद्र्धनमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । दुई वर्षको प्रयासपछि ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको मेयर राईले बताईन् । होमस्टेका लागि आवश्यक पुर्वाधार तयार गर्न नगरपालिकाको एक करोड खर्च भएको छ । हाललाई ४० जना पाहुनालाई अटाउनेगरी होमस्टे सञ्चालनमा ल्याइएको हो ।

होटलको तुलनामा सामुदायीक होमस्टेको खाना, खाजा र आवास सस्तो हुने सञ्चालकहरु बताउँछन् । सादा खाना दुई सयमै उपलव्ध छ । सिंगल बेडको भाडा दुई सय निर्धारण गरिएको छ । लोकल चिकेन र मटनको प्रतिप्लेट मुल्या १५० रुपैयाँ छ । पाहुनाले माग गरे अनुसार अर्गानिक खाना, खाजा र नास्ताको साथमा वास पाउने हलेसी चाम्लिङ सामुदायीक होमस्टेका सदस्य मोहितराम राईले बताए । होमस्टेमा आएका पाहुनालाई लोकल भाले, ढिँडो, गुन्द्रुक, दाल, तरकारी लगायतका परिकारको स्वाद चखाउने व्यवस्था छ ।
होमस्टेमा बस्ने पाहुना विशेषगरी किरातजन्य खानपान र संस्कृतिमा रम्न पाउने सामुदायीक होमस्टे सञ्चालक रबिन चाम्लिङ बताउँछन् । नगरपालिकाले ब्राण्डिङ गरेको कोदोको तीन पाने रक्सीलाई विक्रीवितरणका लागि समेत होमस्टेको प्रवद्र्धन गरिएको मेयर राईले बताईन् ।
