क्यान्सर पीडितको जीवन बचाउका लागि ५ लाख संकलन

खोटाङ, ११ साउन । संखुवासभाको क्यान्सर पीडित एक महिलाको जीवन बचाउका लागि ५ लाखभन्दा बढी सहयोग जुटेको छ । संखुवासभा धर्मदेबी नगरपालिका–५ माम्लिङ निवासी २९ वर्षीय टीका कार्कीको सहयोगार्थ ५ लाख २ हजार ८७ रुपैयाँ संकलन भएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे माइती घर भएकी टिकाको जीवन रक्षाका लागि हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठको पहलमा सहयोग जुटाइएको हो ।

क्यान्सर पीडित टीकाको सहयोगार्थ गत असार ५ गतेदेखि साउन १० गते अभियान सञ्चालन गरिएको थियो । अभियानका दौरान स्वदेश तथा विदेशमा रहेका २१३ जना दाताबाट सहयोग संकलन गरिएको हो । संकलन भएको रकम बिरामीका बुवा नीरबहादुर खड्काको खातामा जम्मा गरिएको श्रेष्ठले जानकारी दिए ।

टिका वर्षदिन अघिदेखि पाठेघरको क्यान्सरबाट पीडित छिन् । पीडितको हाल बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भइरहेको छ । टिकाको उपचारका क्रममा हालसम्म १५ लाख खर्च भइसहेको छ । थप उपचारका लागि कार्की परिवारबाट सहयोगको याचना भएपछि अभियान सञ्चालन गरिएको श्रेष्ठले बताए ।

लिच्कीराम्चे घर भइ हाल कतार पुगेका श्रेष्ठले विगतदेखि नै स्वास्थ्यका कारण संकटमा परेका बिरामीको सहयोगार्थ अभियान सञ्चालन गर्दैआएका छन् ।