विद्यालयलाई पहिरोबाट जोगाउन रिटेनिङ वाल निर्माण सुरु

खोटाङ, १७ साउन । खोटाङको साकेला गाउँपालिकाले विद्यालयलाई पहिरोबाट जोगाउन श्रमदानबाट रिटेनिङ वाल निर्माण सुरु गरेको छ । पहिरोको जोखिममा परेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सरस्वती आधारभुत विद्यालयको भवन संरक्षणकालागि रिटेनिङ वाल निर्माण सुरु गरिएको हो । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘साकेला श्रम अभियान’ अन्तर्गत विद्यालयको रिटेनिङ वाल निर्माण कार्य सुरु गरिएको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

वर्षाका कारण विद्यालयको पेटीमुनिबाट पहिरो गएपछि जोखिममुक्त बनाउन रिटेनिङ वाल हाल्न सुरु गरिएको हो । वडाध्यक्ष हेमन राईको संयोजन तथा गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासीले वाल निर्माणमा श्रमदान गरिरहेका छन् । विद्यालयका लागि पहिलो दिन ७० जनाले श्रमदान गरेका छन् । रिटेनिङ वालका लागि आवश्यक ढुंगा, गिटी र बालुवा स्थानीयले व्यवस्थापन गरेको छ । आवश्यक सिमेन्ट गाउँपालिकाले उपलव्ध गराएको छ । बाँकी काममा भने श्रमदान जुटाइएको गाउँपालिका अध्यक्षले राईले बताए ।

श्रमदानमा सहभागी स्थानीयका लागि बाँझेच्यानडाँडा घर भइ हाल युके बसिरहेका दिपक राईले खाजाको व्यवस्थापन गरिदिएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षणमा समुदायले देखाएको सक्रियता अनुकरणीय देखिएको गाउँपालिका अध्यक्ष राईले बताए ।