खोटाङमा बल्ल ब्युँझियो कांग्रेस–एमाले संयन्त्र

खोटाङ, १९ पुस । केन्द्र र प्रदेशमा कांग्रेस र एमालेको सत्ता सहकार्य भएको लामो समयपछि खोटाङमा दुई दलीय संयन्त्र क्रियासिल बनेको छ । केन्द्रमा कांग्रेस र एमालेको सत्ता सहकार्य भएको झण्डै छ महिनापछि जिल्लामा कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको बैठक बसेको छ । पुस १८ गते पुष्पलाल स्मृति भवनमा बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको दुई दलीय संयन्त्रका अध्यक्ष एबं नेकपा एमाले खोटाङका ईन्चार्ज बिशाल भट्टराईले जानकारी दिए ।

दुई दलीय संयन्त्रको बैठकले जिल्लाको समसामयीक राजनिती र अन्य विषयमा समिक्षा गर्दै जिल्लाका स्थानीय तहमा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई समन्वय गरेर काम गर्न निर्देशन दिने, स्थानीय तहहरुसँग समन्वय गर्दै त्यहाँ भएका कामहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै, जिल्लाका विविध समस्या र विकास निर्माणका सवालमा केन्द्र र प्रदेशमा डेलीगेसन जान परे अन्य पक्षसँग पनि समन्वय गरेर जाने निर्णय गरिएको दुई दलीय संयन्त्रले जनाएको छ ।

बैठकमा दुई दलीय संयन्त्रको बैठक महिना दिनभित्र बस्ने र संयन्त्रमा कांग्रेसकोतर्फबाट तोकिने दुई सदस्यको नाम आगामी बैठकसम्ममा टुंगो लगाउने निर्णय भएको छ ।

बैठकमा दुई दलीय संयन्त्रका अध्यक्ष एबं एमाले जिल्ला ईन्चार्ज भट्टराई, सदस्यहरु कांग्रेस सभापति बिष्णुकुमार राई, एमाले अध्यक्ष देवबिक्रम राई र एमालेका सचिव सुरेन्द्रकुमार राई उपस्थित थिए । यस्तै, कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, समिर राई, कांग्रेस प्रवक्ता रोजन राई, एमालेका कोशी प्रदेश सचिवालय सदस्य बिणादेबी राई र एमाले जिल्ला उपाध्यक्ष कुमार आचार्यको आमन्त्रित उपस्थिति रहेको थियो ।

कांग्रेस र एमालेको सहकार्यमा गत असार ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री नियुक्त भएका थिए ।