खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी

खोटाङ, २६ पुस । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा १ हजार २८२ जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचनको शान्ति सुरक्षार्थ परिचालनका लागि निर्वाचन प्रहरी भर्ना तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक व्यक्तिले पुस २५ गतेदेखि माघ १ गतेसम्ममा दरखास्त दिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताईन् ।

१८ वर्ष पुरा भइ ५४ वर्ष ननाघेका तथा साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् । उमेर हद र आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी वलको कार्यालयमा दरखास्त दिन पाउने व्यवस्था मिलाइएको छ । दरखास्त दिनका लागि पासपोर्ट साइजको ५ प्रति फोटो तथा नागरिकताको सक्कल र फोटोकपी लिएर जानु पर्ने छ । विदाको दिन समेत दरखास्त दिन सकिने भर्ना तथा नियुक्ति समितिले जनाएको छ ।

भर्ना तथा नियुक्ति समितिले माघ ५ गतेदेखि माघ ९ गतेसम्म निर्वाचन प्रहरी छनौट गर्ने र माघ १२ गते अन्तिम नजिता प्रकाशन गर्ने तयारी गरेको छ । छनौटमा परेका उम्मेदरवारलाई माघ १५ गतेदेखि माघ २४ गतेसम्म तालिममा सहभागी गराइने छ । निर्वाचन प्रहरीले नियुक्ती पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोके बमोजिम कार्यक्षेत्रमा खटिनुपर्ने छ । ४० दिन सेवा गर्दा एकमुष्ट ३४ हजार ७७६ रुपैयाँ रकम पाउनेछन् ।