नेपालको न्याय प्रणालीमा मेलमिलाप : आवश्यकता, परम्परा र समकालीन सान्दर्भिकता
खिलेन्द्रहरि लुइटेल
काठमाडौं, २९ असार । समाज विभिन्न विचार, मान्यता, स्वार्थ र सामाजिक सम्बन्धहरूको समष्टिगत स्वरूप हो। त्यसैले समाजमा मत भिन्नता, असहमति र विवाद उत्पन्न हुनु स्वाभाविक प्रक्रिया हो। जहाँ विवाद हुन्छ, त्यहाँ त्यसको न्यायोचित, दिगो र सबै पक्षले स्वीकार गर्ने समाधानको आवश्यकता पनि रहन्छ। यही आवश्यकतालाई सम्बोधन गर्न राज्यले औपचारिक तथा अनौपचारिक दुवै प्रकारका विवाद समाधानका संयन्त्रहरूको व्यवस्था गरेको हुन्छ। औपचारिक संयन्त्रका रूपमा अदालतहरू हुन्छन् भने अनौपचारिक संयन्त्र अन्तर्गत वैकल्पिक विवाद समाधान (Alternative Dispute Resolution–ADR) का विभिन्न विधिहरू अपनाइन्छन् । तीमध्ये मेलमिलाप आज सबैभन्दा प्रभावकारी, सहज र सम्बन्ध संरक्षणमुखी माध्यमका रूपमा स्थापित हुँदै गएको छ।
आधुनिक लोकतान्त्रिक राज्यमा अदालतलाई न्यायप्राप्तिको अन्तिम आश्रयस्थल मानिन्छ। तर प्रत्येक विवादको सम...









